ललितपुर। अविरल वर्षाका कारण आएको पहिरोले ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ती लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार आइतबार (मिति २०८३ असार २९) बागमती गाउँपालिका–३ अन्तर्गत भट्टेडाँडा क्षेत्रको पाङदुर, टाकुर्चे र भालुखोला आसपासमा सडकमाथिबाट पहिरो खस्दा कान्ती लोकपथ पूर्ण रूपमा बन्द भएको हो।
पहिरोका कारण भट्टेडाँडा हुँदै मकवानपुर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीले सडक पूर्ण रूपमा अवरुद्ध रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक कामबाहेक उक्त सडक भएर यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सडक खुलाउने प्रयास सम्बन्धित निकायबाट भइरहेको जनाइएको छ। प्रहरीले सडक सञ्चालनमा आउनेबारे थप सूचना जारी गरिने जनाएको छ।
प्रकाशित मिति : २०८३ असार २९ गते सोमवार






