काठमाडौं । नेपालमा स्ट्रिट फुटबल संस्कृतिलाई पुनर्जीवित गर्दै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यका साथ ‘Xtreme Football Fever ISFA 3v3 Street Football World Cup Qualifiers Nepal 2026’ आयोजना हुने भएको छ।
एक्सट्रिम इनर्जी ड्रिङ्क्सको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन एलपिएस म्यानेजमेन्ट प्रालि, एस एण्ड एस हेल्थ एण्ड रिसर्च सेन्टर (एईसी स्पोर्ट्स) र ट्रिपल टु प्रोडक्सन प्रालि ले संयुक्त रूपमा गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामार्फत देशभर लुकेर रहेका फुटबल प्रतिभाको पहिचान, युवालाई खेलकुदमार्फत सकारात्मक गतिविधिमा जोड्ने तथा अन्तर्राष्ट्रिय स्तरको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ।
प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६, २०२६ सम्म नेदरल्याण्ड्सको यूट्रेक्टमा हुने ISFA 3v3 Street Football World Cup 2026 मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ। विजेता टोलीका सम्पूर्ण खेलाडीलाई तीन महिनाको व्यावसायिक खेलाडी सम्झौतासँगै विश्वकप तयारीका लागि विशेष बन्द प्रशिक्षण पनि प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी सबै टोलीको प्रदर्शनका आधारमा नेपालकै पहिलो आधिकारिक ‘Nepal’s 3v3 Street Football Ranking’ समेत तयार गरिनेछ, जसले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोट प्रक्रियामा आधार तयार गर्ने अपेक्षा गरिएको छ।
आयोजकले ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र स्पेनजस्ता फुटबल महाशक्ति राष्ट्रको सफलताको आधार स्ट्रिट फुटबल रहेको उल्लेख गर्दै नेपालमा पनि यही संस्कृतिलाई संस्थागत रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको जनाएको छ।

देशभरबाट खुला दर्तामार्फत ९२ टोली प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिता समूह चरण र नकआउट प्रणालीमा सञ्चालन हुनेछ। ९२ टोलीलाई २३ समूहमा विभाजन गरिनेछ भने प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट १८ तेस्रो स्थानका टोली गरी ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।
प्रतियोगिताका खेलहरू ISFA 3v3 Street Football Rules 2025–26 अनुसार खेलाइनेछन्। प्रत्येक खेल कुनै विश्रामबिना लगातार १० मिनेटको हुनेछ र साइज–४ को फुटसल बल प्रयोग गरिनेछ।
समूह चरणका खेलहरू जुलाई १ देखि ८ सम्म हुनेछन्। त्यसपछि जुलाई १० र ११ मा राउन्ड अफ ६४, जुलाई १३ मा राउन्ड अफ ३२, जुलाई १५ मा राउन्ड अफ १६ तथा जुलाई १९ मा क्वाटरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल सञ्चालन गरिनेछ।
प्रतियोगिताका खेलहरू दैनिक अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म फ्लडलाइट, संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमसहित उत्सवका रूपमा सञ्चालन गरिनेछन्।
समूह चरणका खेलहरू काठमाडौं उपत्यकाका पाँच ऐतिहासिक तथा रैथाने स्थान— कुमारीनानी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल–संकटा मा आयोजना गरिने आयोजकले जनाएको छ। यी स्थानमा स्थानीय संस्कृति र स्ट्रिट फुटबलको मौलिक वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।






