निल पाषाण बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । निल पाषाण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा शनिबार काठमाडौंस्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मिलन शर्माको अध्यक्षतामा आयोजित सभामा पदाधिकारी, सञ्चालक समिति, कर्मचारी तथा ठूलो संख्यामा शेयर सदस्यहरूको सहभागिता रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था, भावी कार्ययोजना तथा सदस्यमुखी सेवाहरूको विस्तार सम्बन्धी विषयमा विस्तृत समीक्षा तथा छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सहकारीको दिगो विकास, सुशासन, पारदर्शिता र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई संस्थाको मुख्य प्राथमिकताका रूपमा अघि बढाइएको बताए। उनले सदस्यहरूको विश्वास, सहकार्य र सक्रिय सहभागिताबाट संस्थालाई अझ प्रभावकारी तथा विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

सभामा संस्थामा हाल चार सयभन्दा बढी शेयर सदस्य आबद्ध रहेको जानकारी दिइएको थियो। साथै आगामी दिनमा बचत तथा लगानीका कार्यक्रमलाई विस्तार गर्दै उद्यमशीलता प्रवर्द्धन र सदस्यहरूको आर्थिक उन्नतिका लागि विभिन्न नयाँ योजना कार्यान्वयन गरिने जनाइएको छ।
वक्ताहरूले सहकारी क्षेत्रले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन, रोजगारी सिर्जना गर्न तथा सामूहिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सदस्यहरूको निरन्तर सहयोग र सहभागिताको आवश्यकता औंल्याए।

साधारण सभाले संस्थाको संस्थागत विकास, सदस्यहरूको विश्वास अभिवृद्धि तथा आगामी कार्यदिशालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै विभिन्न प्रस्तावहरू पारित गरेको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार