मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३ आयोजना हुने



काठमाडौं।
मानव सेवा, सामाजिक उत्तरदायित्व तथा परोपकारी कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मानव कल्याणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८३’ आयोजना गरिने भएको छ।

लायन्स क्लब अफ काठमाडौं परोपकारको आयोजनामा तथा परोपकार जीवनदर्शन फाउन्डेसनको सह–आयोजनामा सञ्चालन हुने महायज्ञ आगामी असार ८ गतेदेखि १६ गतेसम्म काठमाडौंको पशुपति क्षेत्रस्थित शम्भुनी भवन परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ।

महायज्ञको शुभारम्भ असार ८ गते बिहान ८ः४५ बजे कलश यात्राबाट हुनेछ भने बिहान ९ः३० बजेदेखि मुख्य कथा वाचन सुरु गरिनेछ। कार्यक्रम अवधिभर दैनिक बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्। असार १६ गते पूर्णाहुति तथा विसर्जनसँगै महायज्ञ समापन गरिने कार्यक्रम रहेको छ।

महायज्ञमा पूज्य देवी भूमि मानव जयले श्रीमद्भागवत कथा वाचन गर्नेछिन् भने कार्यक्रमको संकल्पकर्ता पार्वती खरेल पाण्डे रहनेछिन्। यस अवधिमा श्रीमद्भागवत प्रवचन, भजन–कीर्तन, सामूहिक पूजा–आरती, सांस्कृतिक प्रस्तुति तथा दाता एवं सहयोगी सम्मान कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

आयोजकका अनुसार महायज्ञ धार्मिक कार्यक्रम मात्र नभई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान हो। महायज्ञमार्फत संकलित दान तथा सहयोग रकम असहाय, ज्येष्ठ नागरिक, आर्थिक रूपमा विपन्न परिवार तथा शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित समुदायको हितमा खर्च गरिनेछ।

साथै शिक्षा, स्वास्थ्य र सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउने तथा युवा पुस्तालाई संस्कार, संस्कृति र सेवामूलक कार्यप्रति प्रेरित गर्ने लक्ष्य राखिएको छ।
संकलित रकमको उपयोग पारदर्शी र उत्तरदायी ढंगले गरिने तथा आय–व्यय विवरण सार्वजनिक गरिने प्रतिबद्धता आयोजकले जनाएको छ।

‘परोपकारको महाअभियान, मानव कल्याणका लागि हाम्रो सामूहिक योगदान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महायज्ञ सफल बनाउन आयोजकले धर्मप्रेमी, समाजसेवी, उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार