अमेरिका–इरानबीच १४ बुँदे सम्भावित सम्झौता सार्वजनिक, युद्धविरामदेखि ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्म



काठमाडौं । इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच हुन लागेको भनिएको १४ बुँदे समझदारीपत्र (एमओयू) को विवरण सार्वजनिक गरेको छ। यद्यपि उक्त सम्झौताका बुँदाबारे अमेरिका वा इरानमध्ये कुनै पक्षले औपचारिक पुष्टि गरेका छैनन्।

इरानको अर्धसरकारी समाचार एजेन्सी मेहर न्युजका अनुसार प्रस्तावित सम्झौतामा लेबनानसहित क्षेत्रीय तनावग्रस्त सबै मोर्चामा स्थायी युद्धविराम लागू गर्ने व्यवस्था समावेश गरिएको छ। साथै, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउने उल्लेख गरिएको छ।

सम्झौताअनुसार ३० दिनभित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी भूभाग तथा आसपासका क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता गर्ने तथा इरानको व्यवस्थाअनुसार रणनीतिक महत्वको स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउने विषय पनि समेटिएको बताइएको छ।

त्यस्तै, अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अर्ब अमेरिकी डलर बराबरको सहयोग योजना अघि सार्ने, इरानी तेल तथा ऊर्जा क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउने तथा इरानले परमाणु हतियार विकास नगर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउने बुँदाहरू पनि प्रस्तावित सम्झौतामा रहेको मेहर न्युजले जनाएको छ।

बीबीसीका अनुसार सम्झौतामा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप नबढाउने र इरानमाथि नयाँ आर्थिक प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि समावेश गरिएको छ।

यसैगरी, इरानको रोक्का गरिएको सम्पत्तिको आधा हिस्सा फुकुवा गर्ने, इरानी तेलमाथिको प्रतिबन्ध निलम्बन गर्ने तथा नौसैनिक नाकाबन्दी पूर्ण रूपमा नहट्दासम्म अन्तिम चरणको वार्ता अघि नबढाउने सर्त समेत प्रस्तावित १४ बुँदे समझदारीमा समावेश रहेको बताइएको छ।

यद्यपि, सार्वजनिक गरिएका यी बुँदाहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र दुवै पक्षबाट आधिकारिक प्रतिक्रिया आउन अझै प्रतीक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार