काठमाडौं, जेठ १५ ।
सगरमाथा आरोहणको ७३औँ वार्षिकोत्सवको अवसरमा नेपालमा आयोजित ‘एभरेस्ट समिटियर्स समिट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । विश्वका २६ देशका १७६ भन्दा बढी एभरेस्ट आरोहीहरू सहभागी भएको उक्त सम्मेलनले हिमालय संरक्षण, दिगो पर्वतारोहण र जलवायु परिवर्तनविरुद्ध सामूहिक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनमा सहभागी पर्वतारोहीहरूले दिगो तथा नैतिक पर्वतारोहणको पक्षमा संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै हिमनदी, पर्वतीय पर्यावरण र स्थानीय समुदायमा जलवायु परिवर्तनले पारेको प्रभावबारे विश्वव्यापी चेतना फैलाउने अठोट व्यक्त गरेका छन् । साथै, नेपालसहित आफ्ना देशहरूमा पनि वातावरणमैत्री र जिम्मेवार पर्वतारोहण अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।
गत मे २७ मा सम्पन्न समिटमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी तथा विदेशी आरोहीहरूसँग प्रत्यक्ष संवाद गर्दै सगरमाथा संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका थिए । उनले विश्व तापक्रम वृद्धि, हिमनदी पग्लिने समस्या र जैविक विविधता ह्रासले हिमालय क्षेत्रमा गम्भीर असर पुर्याइरहेको उल्लेख गर्दै यसको समाधानका लागि विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र पहिचान नभई सम्पूर्ण विश्वको अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै पर्यटनमार्फत नेपालको अर्थतन्त्रमा यसको महत्वपूर्ण योगदान रहेको बताए । उनले जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र पर्यावरणीय असन्तुलन हिमाली क्षेत्रका प्रमुख चुनौती बनेको धारणा व्यक्त गरे ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आरोहीहरूको सुरक्षा, उद्धार प्रणालीको सुदृढीकरण, हिमाली समुदायको आर्थिक सशक्तीकरण तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
मन्त्री पौडेलले हिमालय संरक्षण नेपालमात्रको नभई विश्वकै साझा जिम्मेवारी भएको उल्लेख गर्दै पर्वतारोहणलाई सुरक्षित, अनुशासित र वातावरणमैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रम अघि बढाइने बताए।
सम्मेलनका क्रममा विभिन्न देशका सफल एभरेस्ट आरोहीहरूलाई विशेष पदक तथा सम्मानपत्र प्रदान गरिएको थियो । यस अवसरमा विश्व कीर्तिमानी आरोही कामी रिता शेर्पालाई हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । उनले हालै ३२औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

समिटअन्तर्गत तीनवटा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो ।
‘महिला पर्वतारोहणः सुरक्षा, सम्मान र समान अवसर’ विषयक छलफलमा महिला आरोहीहरूको बढ्दो सहभागिता, उच्च हिमाली क्षेत्रमा उनीहरूको क्षमता तथा व्यक्तिगत जिम्मेवारीबारे चर्चा गरिएको थियो ।
त्यस्तै ‘समिट पर्स्पेक्टिभ्सः जोखिम, सहनशीलता र उपलब्धि’ शीर्षकको छलफलमा एभरेस्ट क्षेत्रमा बढ्दो भीड, अनुभवहीन आरोहीहरूको संख्या, उद्धार व्यवस्थापन र फोहोर नियन्त्रणबारे चिन्ता व्यक्त गरिएको थियो ।
‘माउन्टेन इकोसिस्टमका लागि जलवायु वित्त विस्तार’ विषयक तेस्रो छलफलमा जलवायु वित्तलाई हिमाली समुदाय, वातावरण र तल्लो तटीय क्षेत्रको दिगो भविष्यसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
कार्यक्रमकै क्रममा एभरेस्ट एलायन्स नेपाल र चीनस्थित गोनेचर आउटडोर स्पोर्ट्स ग्रुप कम्पनीबीच ‘एभरेस्ट समिटियर्स समिट अवार्ड २०२७’ स्थापना गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त अवार्डअन्तर्गत पर्वतारोहण तथा सामुदायिक विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई ३० हजार अमेरिकी डलर राशिको पुरस्कार प्रदान गरिने जनाइएको छ ।





