राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिरिएको घटनासँग जोडेर गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा मनिष झा र हरि ढकाल सहितको भीडले नख्खु कारागार घेरेपछि सुरक्षा कारण देखाउँदै रवि लामिछाने कारागारबाट बाहिर निस्केका थिए। त्यसपछि अन्य कैदीबन्दीहरू समेत कारागारबाट बाहिरिएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा उक्त घटनापछि देशभरका कारागारमा असर परेको, कैदीबन्दी भाग्ने क्रम बढेको तथा त्यसले गम्भीर सुरक्षा संकट सिर्जना गरेको उल्लेख छ। अनुसन्धान समितिले रवि लामिछाने, नख्खु कारागारका जेलर सत्यराज जोशी तथा कारागार व्यवस्थापन विभागका महानिर्देशकसँग बयान लिएको थियो। प्रतिवेदनमा उनीहरूको बयान एकअर्कासँग बाझिएको उल्लेख गरिएको छ।
प्रतिवेदनको निष्कर्षमा “कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी मानव अधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नख्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ” भन्ने उल्लेख गरिएको छ।
यद्यपि प्रतिवेदनले प्रत्यक्ष रूपमा “रवि लामिछानेले कैदी भगाए” भनेर अन्तिम आपराधिक दोष स्थापित गरेको भने छैन। सरकारले थप सूक्ष्म अनुसन्धान गरी कानुनी जिम्मेवारी यकिन गर्नुपर्ने सिफारिस प्रतिवेदनमा गरिएको छ।






