प्रधानन्यायाधीशको आजै संसदीय अनुमोदन, शपथ र पदबहालीको तयारी



काठमाडौं । सर्वोच्च अदालतमा नयाँ नेतृत्व ल्याउने तयारी तीव्र बनेको छ। ३३औँ प्रधान न्यायाधीशका लागि सिफारिस भएका डा. मनोज शर्मालाई आजै शपथ गराएर पदबहाली गराउने गरी सत्ता पक्षले तीव्र समन्वय गरिरहेको स्रोतहरूले बताएका छन्।

संवैधानिक परिषद्ले वैशाख २४ गते डा. शर्माको नाम प्रधान न्यायाधीशका लागि सिफारिस गरेको थियो। उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परे पनि समितिले मंगलबार बिहानदेखि सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

सत्तारूढ दलका एक नेताका अनुसार समितिबाट आजै अनुमोदन गराउने र राष्ट्रपति कार्यालयसँग समन्वय गरेर साँझसम्म शपथ सम्पन्न गर्ने तयारी छ। यदि प्रक्रिया समयमै पूरा भए डा. शर्माले आजैदेखि सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन्।

प्रधान न्यायाधीश अनुमोदन भएपछि संसद सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई पठाउँछ। सोही आधारमा शपथ ग्रहणको समय तय गरिन्छ। स्रोतका अनुसार राष्ट्रपति कार्यालयसँग साँझ ६ बजाभित्र शपथ गराउनेबारे आन्तरिक समन्वय भइरहेको छ।

शपथ ग्रहण सम्पन्न भएपछि डा. शर्माले आजै बेलुकी सर्वोच्च अदालतमा पदबहाली गर्ने र बुधबारदेखि नियमित रूपमा मुद्दाको पेशी सूची (कजलिस्ट) तोक्ने तयारी रहेको बताइएको छ।

यद्यपि राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले शपथ ग्रहणबारे अहिलेसम्म कुनै सूचना नआएको बताएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार