काठमाडौं । विद्यादेवी भण्डारीले नेकपा (एमाले)ले जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने बताएकी छन्।
तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आइतबार दिएकी शुभकामना सन्देशमा उनले आत्मसुधार, एकता तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राख्ने मदन–आश्रितको प्रेरणाबाट अघि बढ्नुपर्ने उल्लेख गरिन्।
उनले जनताको मत, अधिकार र जनताप्रतिको अटुट विश्वास नै जनताको बहुदलीय जनवाद (जबज) को मूल मर्म रहेको बताइन्। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने जबजको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ।
भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र राष्ट्रिय विकासको यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई जनताको दुःख–सुखमा सहभागी हुन र सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुन आग्रह गरिन्।
युवापुस्तालाई सम्बोधन गर्दै उनले युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना भएको बताइन्। शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सके नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्ने उनको भनाइ थियो।
उनले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै पार्टीका गतिविधिहरूलाई अब युवाकेन्द्रित बनाउनुपर्नेमा जोड दिइन्।






