चुनाव जिते पनि हारे पनि कांग्रेस राष्ट्रिय शक्ति नै हो : गगन थापा



काठमाडौं । गगन थापाले निर्वाचनको परिणामले होइन, इतिहास, विचार, जनविश्वास र भूमिकाले नेपाली कांग्रेसलाई देशको राष्ट्रिय शक्ति बनाएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले चुनाव जित्दा, हार्दा वा निर्वाचनमा सहभागी नै नभएको अवस्थामा पनि नेपाली कांग्रेस राष्ट्रिय शक्ति रहँदै आएको बताए।

उनले भने, “राष्ट्रिय पार्टी हो कि होइन भन्ने कुरा कानुनी रूपमा निर्वाचन परिणामले मापन हुन सक्छ। तर राष्ट्रिय शक्ति चुनावी नतिजाले होइन, यसको इतिहास, वैचारिकी, यसप्रतिको विश्वास र भूमिकाले निर्धारण गर्छ।” थापाले पञ्चायतकालमा कांग्रेसले चुनावमा भाग नलिएको समयसमेत पार्टी राष्ट्रिय शक्तिकै रूपमा रहेको स्मरण गराए। उनका अनुसार राष्ट्रिय शक्ति भएकाले नेपाली कांग्रेसले क्षणिक लाभ–हानि वा तत्कालीन चर्चाका आधारमा निर्णय गर्नु नहुने बताए।

“कहिलेकाहीँ हार स्वीकार गर्न पनि तयार हुनुपर्छ। राष्ट्रिय राजनीतिमा उठेका विषयमा केवल प्रतिक्रिया दिने होइन, त्यसलाई दिशा दिने जिम्मेवारी कांग्रेसको हो,” उनले भने। उनले कांग्रेसलाई मत नदिने नागरिकले पनि मुलुक संकटमा पर्दा “कांग्रेस छ” भन्ने भरोसा गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।

थापाले निर्वाचनबाट बनेको सरकारसँग शक्ति हुने भए पनि त्यो संविधान र कानुनले निर्धारण गरेको सीमाभित्र मात्र प्रयोग गर्न सकिने बताए। उनले भने, “संविधानले सरकारको अधिकार र सीमाहरू स्पष्ट रूपमा निर्धारण गरेको हुन्छ। कानुन बनाउने अधिकार भए पनि त्यो केका लागि र कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने कुरा संविधानमै परिभाषित गरिएको हुन्छ।”

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार