बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राखेर अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो। २०८२ चैत २४ गते सुरु भएको हिउँदे अधिवेशनमा चार वटा बैठक मात्र बसेका थिए।

मन्त्रिपरिषद्ले प्रदेश निजामती सेवा नियमावली, २०८३ पनि स्वीकृत गरेको छ। नियमावली लागू भएसँगै नियुक्ति, सरुवा, बढुवा, सेवा–सुविधा र अनुशासनसम्बन्धी व्यवस्था थप व्यवस्थित हुने सरकारको विश्वास छ।

यस्तै, काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई हेटौँडा स्थानान्तरण गर्ने निर्णय गरिएको छ। साथै वातावरण संरक्षण ऐन र प्रदेश उच्च शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक मन्त्रिपरिषद्को समितिमा पठाइएको प्रवक्ता तामाङले जानकारी दिए।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार