काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपाल (NGO Federation of Nepal) को आयोजनामा “राष्ट्रिय नागरिक सम्मेलन २०८३” काठमाडौंमा जारी रहेको छ । सुशासन, सामाजिक न्याय, नागरिक स्वतन्त्रता तथा संघ–संस्थामैत्री वातावरण निर्माणका विषयमा केन्द्रित उक्त सम्मेलन बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा सञ्चालन भइरहेको हो ।
सम्मेलनमा देशभरका नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा लोकतन्त्रको सुदृढीकरण, मानव अधिकार, सामाजिक न्याय, नागरिक स्वतन्त्रता तथा नागरिक समाजको भूमिकाका विषयमा व्यापक छलफल भइरहेको छ ।
गैरसरकारी संस्था महासंघ नेपालले आफ्नो आधिकारिक जानकारीमा महासंघ नेपालभरका हजारौं गैरसरकारी संस्थाको साझा छाता संगठन रहेको उल्लेख गरेको छ । महासंघले सुशासन, मानव अधिकार, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नागरिक समाजमाथि देखिएका चुनौती, संघ–संस्थासम्बन्धी नीतिगत व्यवस्था, सामाजिक उत्तरदायित्व तथा लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राखेका छन् । सम्मेलनमार्फत नागरिक समाज र सरकारबीच सहकार्य तथा संवादलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
महासंघका अध्यक्ष अर्जुन भण्डारी, महासचिव देवी खड्का लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको सम्मेलन भोलिसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।






