विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह



काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित प्रिन्सिपल एसोसियएसन अफ नेपाल ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल को ध्यानाकर्षण गराएको छ।

अध्यक्ष सुदामप्रसाद गौतम को नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझावपत्र बुझाउँदै विद्यालय क्षेत्रको रूपान्तरणका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरेको हो।

पानले विद्यालय शिक्षामा पर्याप्त लगानी बढाउन, सामुदायिक विद्यालयमा पुनःजागरण अभियान सञ्चालन गर्न, परीक्षा प्रणालीलाई डिजिटल र सरल बनाउन, समयानुकूल तथा व्यवहारिक पाठ्यक्रम लागू गर्न, विद्यालयलाई डिजिटल लर्निङ हबका रूपमा विकास गर्न तथा शिक्षकको क्षमता विकास र उत्प्रेरणामा जोड दिनुपर्ने सुझाव दिएको छ।

यसका साथै शिक्षक दरबन्दीको असन्तुलन हटाएर गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि पानले जोड दिएको छ।

सुझाव ग्रहणपछि मन्त्री पोखरेलले शिक्षा सुधारका लागि आएका रचनात्मक सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार