बन्यो शिक्षा समिति, कहिले आउला शिक्षा विधेयक?



काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकले विभिन्न संसदीय समितिहरू गठन गरेको छ। नयाँ जनादेशसँगै गठन भएको संसद्ले आफ्नो कार्यभार सम्हाल्दै कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन समितिहरू निर्माण गरेको हो।

समिति सभापति चयन भने अझै बाँकी रहेको छ। सभामुख डीपी अर्यालका अनुसार सभापति चयनका लागि वैशाख ४ गते निर्वाचन गरिनेछ। संसदीय समितिहरूले विधेयक निर्माण तथा छलफल प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। विशेषगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले निकट भविष्यमा महत्वपूर्ण संघीय ऐनहरू निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ।

संविधान जारी भएको एक दशक बितिसक्दा पनि शिक्षा, प्रशासन र सुरक्षा जस्ता संवेदनशील क्षेत्रमा आवश्यक संघीय ऐनहरू बन्न नसक्दा संघीय संरचनाको कार्यान्वयनमा चुनौती देखिएको छ। यस्तो अवस्थामा नवनिर्मित संसद् र शिक्षा समितिसामु ‘विद्यालय शिक्षा विधेयक’लाई निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी आएको छ।

यसअघि विघटित प्रतिनिधिसभामा २०८० भदौ २७ गते दर्ता भएको विद्यालय शिक्षा विधेयक संसदीय समितिमा व्यापक छलफलपछि २०८२ भदौ ६ गते प्रतिनिधिसभामा पेश गरिएको थियो। तर, सदन विघटनका कारण उक्त विधेयक अन्तिम निष्कर्षमा पुग्न सकेन। अब सो विधेयक यथास्थितिमा पारित हुन्छ वा परिमार्जनसहित अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ।

अघिल्लो छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही फरक धारणा प्रस्तुत गरेको थियो। पार्टीले बाल विकास केन्द्रमा कार्यरत जनशक्तिलाई औपचारिक रूपमा शिक्षकको मान्यता दिनुपर्ने, निजी विद्यालयले लिने अतिरिक्त शुल्क नियन्त्रण गर्न छात्रवृत्तिको स्पष्ट व्यवस्था गर्नुपर्ने तथा महिला शिक्षकका लागि प्रजनन स्वास्थ्यसम्बन्धी बिदा र सरुवामा विशेष प्राथमिकता दिनुपर्ने माग अघि सारेको थियो।

संविधानको धारा ३१ ले सुनिश्चित गरेको निःशुल्क तथा अनिवार्य शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न ऐन तथा नियमावली निर्णायक हुने देखिएको छ। यसैबीच, कानुन मन्त्री सोबिता गौतम ले कानुन निर्माण प्रक्रियालाई द्रुतगतिमा अघि बढाउन निर्देशन दिएकी छन्। साथै, संसद् बिचौलियाको दबाबमा नपर्ने प्रतिबद्धता पनि राजनीतिक नेतृत्वले व्यक्त गरेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरू
अचुत्तम लामिछाने, ओजश्वी शेरचन, कामिनी कुमारी, कुशुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल, गुरु प्रसाद बराल, चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल–ललितपुर, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल, प्रमिला कुमारी गच्छदार, भीम कुमारी बुढा मगर, महावीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, रहवर अंसारी, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा.लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव र सीता थपलिया ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार