रुपन्देही । रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सञ्चालित सीएमजी क्लव क्यासिनोबाट जुवा खेलिरहेका ४ नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जुवा खेलाउने क्यासिनोका २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डीएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राति क्यासिनोहरुको चेकजाँचका क्रममा उक्त क्यासिनोमा जुवा खेलाउने र खेल्ने समेतलाई नियन्त्रणमा लिएको जनाएको छ । जुवा खेलाउने उक्त क्यासिनोका कर्मचारी सर्लाही बरहथवा ८ बस्ने बर्ष ३१ का मुकेशकुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका१५ बस्ने बर्ष ४१ का अजय केसीलाई नियन्त्रणमा लिएको छ ।
जुवा खेल्ने रुपन्देही बुटवल उपमहानगरपालिका १२ बस्ने बर्ष ३५ का गोबिन्द शर्मा, वडा नं ९ बस्ने बर्ष ३५ का बासुदेव गौतम, बर्ष ३५ का कृष्ण गौतम, वडा नं. ११ बस्ने बर्ष ३६ का चन्द्रप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । बुधबार राति ८ बजे उक्त क्यासिनोबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जुवा खेल्ने नेपालीको साथबाट प्रहरीले ७ गड्डी तासका साथै २ लाख १७ हजार ३ सय ९० रुपैयाँ नेपाली मुद्रा र ३ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
१ लाख २५ हजार (आईसी) का क्वाइन र मोवाईल सेट ६ थानसमेत बरामद गरेको छ ।
रास्वपा सांसदको क्यासिनो
सीएमजी क्लव क्यासिनोका संचालक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद नरेन्द्र साह कलवार हुन् । सर्लाही ३ बाट निर्वाचित सांसद कलवारका यी सहित ४ वटा क्यासिनो संचालित छन् ।
साहको सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सिएमजी र त्यसमातहत चार ठाउँमा अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गरी दसौं करोड राजस्व छली गर्दैआएको छ । साहले २०७१ साउन १५ गतेको अन्तरिम आदेशबाट होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो संचालन गर्दैआएका छन् ।
क्यासिनो नियमावली अनुसार दर्ता गरी संचालन गर्नुपर्ने क्यासिनोहरु उनले अदालतमा रिट हाली अन्तरिम आदेशका आधारमा संचालन गर्दैआएका छन् । जसका कारण देशले पाउनुपर्ने बार्षिक करोडौं राजस्व गुमिरहेको छ । यसरी राजस्वमारी आर्जन गरेको रकम रास्वपामा बुझाएर उनले सर्लाही ३ बाट टिकट लिएको आरोप लाग्दैआएको छ । उनी यसअघि संविधानसभा सदस्य थिए ।





