काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैपटक सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले परीक्षाको औपचारिक सुरुवात गरेको जनाएको छ ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन् । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी छन् ।
यस वर्ष परीक्षामा छात्राको संख्या बढी रहेको छ । कुल २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना सहभागी भएका छन् । जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन् ।
देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक केन्द्रमा सुरक्षा र व्यवस्थापनका लागि प्रहरीसहित आवश्यक जनशक्ति परिचालन गरिएको छ ।
परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण सम्बन्धित केन्द्रबाटै गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
सामूहिक अनुगमनमा रोक
यस वर्ष एसईईमा सामूहिक अनुगमनमा रोक लगाइएको छ । विभिन्न संघ–संस्थाका प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीको लेखनमा अवरोध पुगेको गुनासोपछि यस्तो निर्णय गरिएको हो ।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
आगामी परीक्षा तालिका
* चैत २० गते : अनिवार्य नेपाली
* चैत २२ गते : अनिवार्य गणित
* चैत २३ गते : विज्ञान
* चैत २४ गते : सामाजिक
* चैत २५ गते : ऐच्छिक प्रथम
* चैत २६ गते : ऐच्छिक द्वितीय
* चैत २७–२९ गते : प्राविधिक धारका विषय
एसईई परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन सम्बन्धित निकायहरूले आवश्यक तयारी पूरा गरेको जनाएका छन् ।





