काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिएको रास्वपाले चुनावमा झन्डै दुई तिहाइ मतसहित उल्लेखनीय सफलता हासिल गरेपछि बालेनलाई संसदीय दलको नेता बनाउन आवश्यक प्रावधान मिलाउन विधान संशोधन गर्न लागेको हो।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले पार्टीले चुनावअघि नै बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेकाले संसदीय दलको नेता पनि उनलाई नै बनाउन विधानमा आवश्यक हेरफेर गरिने बताइन्। “हामीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा गएका थियौं। एक प्रकारले भन्दा हाम्रो संसदीय दलको नेता पनि उहाँ नै हो। उहाँलाई दलको नेता बनाउन विधानमा के–कस्ता प्रावधान हेरफेर गर्नुपर्छ, हामी त्यो गर्छौं,” उनले भनिन्।
रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। उक्त धाराको उपधारा ८ (क) अनुसार संघीय निर्वाचनअघि प्रत्यक्ष र समानुपातिकतर्फ छनोट भएका उम्मेदवारमध्ये इच्छुक उम्मेदवारबीच संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने प्रावधान छ।
त्यस्तै उपधारा ८ (ख) मा दलको नेता चयनका लागि हुने निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने व्यवस्था रहेको छ। रास्वपाले यही प्रावधान संशोधन गर्ने तयारी गरेको जनाएको छ। विधानको मौजुदा व्यवस्थाअनुसार कुल सदर मतको ५० प्रतिशतभन्दा एक मत बढी प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता बन्ने व्यवस्था छ। यदि कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान छ।
यसैबीच रास्वपा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्ने गृहकार्यमा जुटेको छ। पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेकाले बैठक बस्न ढिलाइ भइरहेको सहप्रवक्ता रावलले जानकारी दिइन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमतका लागि दुई सिट अपुग हुने गरी १८२ सिट जितेको छ। पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको थियो।
समानुपातिक उम्मेदवार छनोटका विषयमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच अनौपचारिक छलफल भइरहेको पार्टीका नेताहरूले बताएका छन्।





