मकवानपुर-१ मा मतदाताको स्पष्ट सन्देश: काम गर्ने, इमानदार र विकासमुखी नेतृत्व चाहियो



मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर–१ मा चुनावी सरगर्मी बढ्दो छ। तर यसपटकको माहोल विगतभन्दा फरक देखिन्छ। मतदाताहरू केवल नारा, आश्वासन र पार्टीगत वफादारीभन्दा माथि उठेर परिणाम दिने नेतृत्वको खोजीमा छन्। विकास, रोजगारी, शिक्षा, सुशासन र पूर्वाधार जस्ता आधारभूत मुद्दा अहिलेको चुनावी बहसको केन्द्रमा छन्।

घरदैलो र सार्वजनिक भेटघाटका क्रममा मतदाताहरूको एउटै साझा आवाज सुनिन्छ अब काम देखिने नेतृत्व चाहिन्छ। स्थानीय बासिन्दा, विदेशमा रहेका युवा, विद्यार्थी तथा व्यवसायी सबैले फरक–फरक अनुभवबाट एउटै निष्कर्ष निकालेका छन्: पार्टीभन्दा पनि व्यक्ति र उसको कार्यक्षमता महत्वपूर्ण छ।

हेटौंडा–६ हात्तीलेट (लाहुरे टोल) की सर्मिला सापकोटा भन्छिन्, “हाम्रो समर्थन पुरानै पार्टीप्रति रहे पनि यसपटक व्यक्तिलाई हेरेका छौं। उहाँले मकवानपुरमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उल्लेखनीय काम गर्नुभएको छ। त्यसैले यसपालि हाम्रो समर्थन रामेश्वर राना मगरलाई हो।” उनका अनुसार जनताले विश्वास गर्न सक्ने र निरन्तर काम गर्ने नेतृत्व अहिलेको आवश्यकता हो।

विदेशमा रहेका बकैया–४ का विश्व स्याङ्तान पनि देशको अवस्थाप्रति चिन्तित छन्। “समाजमा रहेका विकृति–विसंगति अन्त्य गर्दै युवालाई स्वरोजगारतर्फ लैजान सक्ने नेतृत्व चाहिएको छ। अबको नेतृत्वले युवालाई स्वदेशमै अवसर दिने वातावरण बनाउनुपर्छ,” उनले बताए। उनका अनुसार वैदेशिक रोजगारी बाध्यता होइन, विकल्प बन्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेछ।

हेटौंडा–१८ हर्नामाडीका युवा विद्यार्थी तथा व्यवसायी कविराज पोखरेलले छोटो समयमै देखिने गरी विकास गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए। “छोटो अवधिमा पनि परिणाम देखिन सक्छ भन्ने उदाहरणहरू छन्। जनतालाई विकास चाहिएको हो भने काम गर्ने नेतृत्वलाई नै मत दिनुपर्छ। हाम्रो मत दिपक सिंहलाई हो,” उनले स्पष्ट गरे।

यस्तै, बकैया–७ का युवा व्यवसायी राजकुमार स्याङ्तानले पुराना राजनीतिक अभ्यासबाट अपेक्षित उपलब्धि नआएको गुनासो गरे। “रोजगार, शिक्षा र सडक जस्ता आधारभूत आवश्यकता अझै पूरा भएका छैनन्। अब सक्षम, दूरदर्शी र जिम्मेवार नेतृत्व आउन जरुरी छ,” उनले भने।

बकैया–४ जुरेली निवासी कृषक नारायण घिमिरेको अपेक्षा अझ व्यापक छ। “मकवानपुर–१ दुर्गम भूगोल र कृषिजन्य उत्पादनका हिसाबले सम्भावनायुक्त क्षेत्र हो। यहाँ कृषि बुझ्ने, कृषिसम्बन्धी सडक सुधार गर्ने, मल–बीउ–सिँचाइको पहल गर्ने, जनताको आवाज सदनमा प्रभावकारी रूपमा उठाउने र चुनावपछि पनि जनताको सुख–दुःखमा साथ दिने जनप्रतिनिधि चाहिएको छ,” उनले भने।

समग्रमा हेर्दा, मकवानपुर–१ का मतदाताबीच इमानदार, उत्तरदायी, विकासमुखी र युवालाई अवसर दिने नेतृत्वको खोजी बलियो बनेको छ। निर्वाचन नजिकिँदै जाँदा मतदाताको ध्यान पार्टीगत पहिचानभन्दा पनि उम्मेदवारको कार्यसम्पादन, प्रतिबद्धता र विश्वासयोग्यतामाथि केन्द्रित हुँदै गएको स्थानीयहरूको भनाइ छ।

यसपटकको निर्वाचन केवल मतगणना मात्र होइन, जनअपेक्षाको परीक्षण पनि बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार