बंशलाल तामाङको समर्थनमा कांग्रेसको वृहत् तरुण युवा भेला काठमाडौंमा सम्पन्न



काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा ‘वृहत् तरुण युवा भेला’ आज काठमाडौंमा सम्पन्न भएको छ। सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा आयोजित उक्त कार्यक्रम नारायणटारस्थित पिस ब्याङ्क्वेटमा सम्पन्न भएको हो।

युवा परिचालन तथा निर्वाचन प्रचार–प्रसार समितिको व्यवस्थापनमा सम्पन्न भेलामा सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गतका विभिन्न पालिकाबाट उल्लेख्य संख्यामा युवाहरूको सहभागिता रहेको थियो। सहभागी युवाहरूले परिवर्तन, सुशासन र दिगो विकासको एजेन्डासहित कांग्रेस उम्मेदवार तामाङलाई विजयी गराउने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा वक्ताहरूले कांग्रेसले आत्मसमीक्षा र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै पारदर्शी र उत्तरदायी शासन प्रणालीका लागि काम गरिरहेको बताएका थिए। उनीहरूले बंशलाल तामाङले इन्द्रावती गाउँपालिकाको अध्यक्ष रहँदा इमान्दार, पारदर्शी र परिणाममुखी कार्यशैली अपनाएको स्मरण गर्दै संघीय संसदमा पुगेर क्षेत्र नं. २ को समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उम्मेदवार तामाङले सन्तुलित र दिगो विकासलाई आफ्नो मुख्य प्राथमिकता रहने दोहोर्‍याउँदै हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई ‘अर्गानिक भ्याली’का रूपमा विकास गर्ने योजना पुनः सार्वजनिक गरे। कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमार्फत युवालाई रोजगारी सिर्जना गर्ने आफ्नो स्पष्ट कार्ययोजना रहेको उनले बताए।

भेलामा सहभागी युवाहरूले आगामी पाँच वर्षभित्र क्षेत्र नं. २ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को मूल नारासहित सञ्चालन गरिएको उक्त युवा भेलाले चुनावी गतिविधिलाई थप ऊर्जा र सक्रियता प्रदान गरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार