विकास र सुशासनको स्पष्ट खाकासहित मैदानमा विजय गौतम



मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजय गौतम यतिबेला घरदैलो अभियानमार्फत मतदातामाझ सक्रिय रूपमा प्रस्तुत भइरहेका छन्। विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै उनले आफूलाई परिणाममुखी र जवाफदेही नेतृत्वको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्। बकैया गाउँपालिका–४ निवासी ४० वर्षीय गौतम विद्यार्थी राजनीतिबाट उदाएका, संगठन निर्माण र नेतृत्व विकासमा परिपक्व मानिएका युवा नेता हुन्।

विद्यार्थी आन्दोलनबाट केन्द्रीय जिम्मेवारीसम्म
गौतमको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो। युवावस्थामै संगठन विस्तार, प्रशिक्षण र विचार निर्माणमा सक्रिय रहँदै उनले पार्टीभित्र सशक्त उपस्थिति बनाएका थिए। जिल्ला तह हुँदै केन्द्रीय तहसम्मको जिम्मेवारी सम्हाल्दै उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको भूमिकामा रहे। सो अवधिमा उनले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र स्थानीय मुद्दालाई केन्द्रीय तहसम्म पुर्‍याउने काममा अग्रसरता लिएको दाबी गरिन्छ।

प्रशासनिक अनुभवले दिएको आत्मविश्वास
राजनीतिक अनुभवसँगै उनले प्रशासनिक कार्यप्रणालीको व्यावहारिक ज्ञान पनि हासिल गरेका छन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा सचिवालयमा कार्यरत रहँदै उनले राज्य सञ्चालन, सुरक्षा संयन्त्र र नीति कार्यान्वयनको प्रक्रियाबारे नजिकबाट बुझ्ने अवसर पाए। यही अनुभवलाई आधार बनाएर उनले संसद्मा केवल भाषण होइन, परिणाम देखिने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“संसदमा गएर आवाज मात्रै उठाउने होइन, निर्णय कार्यान्वयन हुने वातावरण बनाउन चाहन्छु,” उनले मतदातासँगको भेटमा बताएका छन्।

शिक्षा र परिवर्तनमुखी सोच
त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री र व्यवहारिक राजनीतिका पक्षधर मानिन्छन्। शिक्षा सुधार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सेवा प्रवाहमा पारदर्शितालाई उनले आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।

उनको भनाइ छ, “म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ। तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन।”

समग्र विकासको दीर्घकालीन योजना
गौतमले मकवानपुर–१ को विकासका लागि सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र कृषिमा योजनाबद्ध दीर्घकालीन कार्यक्रम आवश्यक रहेको औंल्याएका छन्। स्थानीय तह र संघीय सरकारबीच समन्वय गर्दै समग्र विकासको स्पष्ट खाका तयार पार्ने उनको लक्ष्य छ।

सुशासनलाई मूल मन्त्र बनाउँदै उनले भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह र जवाफदेहितालाई संस्थागत गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। “जनताको विश्वास जित्ने राजनीति चाहिएको छ, अवसरवादी प्रवृत्ति होइन,” उनले जोड दिएका छन्।

प्रतिस्पर्धात्मक मैदानमा स्पष्ट दृष्टिकोण
मकवानपुर–१ मा यसपटक २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिस्पर्धात्मक माहोलबीच गौतमले आफूलाई विकास र सुशासनको स्पष्ट दृष्टिकोणसहित प्रस्तुत गरेका छन्। घरदैलो अभियानमार्फत मतदाताका सुझाव संकलन गर्दै उनी आफ्नो एजेन्डालाई अझ परिमार्जित गरिरहेका छन्।

उनका अनुसार निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, जनताको विश्वास जित्ने अवसर हो। “परिणाम जे आए पनि जनतासँगको सम्बन्ध र सेवाको निरन्तरता कायम राख्नेछु,” उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार