अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन : गगन थापा



सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनअपेक्षा पूरा गर्दै देशलाई सही दिशामा अघि बढाउने विषय अहिलेको मुख्य दायित्व भएको बताएका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका थापाले आगामी पाँच वर्ष सरकारका लागि परीक्षणको समय हुने उल्लेख गर्दै जनभावनाअनुसार काम गर्न नसके राजनीति माथि नै प्रश्न उठ्ने चेतावनी दिए।

“अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन। हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ। सुशासन कायम गर्नुपर्छ। जनता कुशासनले आजित भइसकेका छन्,” उनले भने, “युवालाई रोजगारी चाहिएको छ। स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा ठोस काम गर्नुपर्ने आवश्यकता छ। देश सम्हाल्न राष्ट्रिय दलले जिम्मेवारी बोध गर्नैपर्छ।”

सभापति थापाले जोशसँगै होस, उत्साहसँगै अनुभवको संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिए। परिणाममुखी काम गर्ने समय आइसकेको भन्दै उनले अब बहाना बनाउने वा आलटाल गर्ने छुट नरहेको स्पष्ट पारे। सबै राजनीतिक दललाई साथमा लिएर स्थायित्व र विकासको आधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले सर्लाही–४ का मतदातासँग भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने वाचा गरेका छन्। उनका अनुसार आगामी कार्यकाल उपलब्धिमूलक बनाउने जिम्मेवारीबाट अब पछि हट्ने अवस्था छैन।

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते आइतवार