श्री साई बचत तथा ऋण सहकारीको २६औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । श्री साई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँमा आयोजित साधारणसभामा संस्थाको आर्थिक अवस्था, सञ्चालन प्रगति तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।

साधारणसभामा अध्यक्ष श्री रमिला शर्मा ज्यूबाट आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमा संस्थाले सदस्य केन्द्रित सेवा विस्तार, वित्तीय अनुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै अघि बढेको उल्लेख गरिएको छ। सदस्यहरूको बचत सुरक्षित राख्दै सहुलियतपूर्ण ऋण प्रवाहमार्फत आर्थिक सशक्तीकरणमा संस्थाले योगदान पुर्‍याएको जानकारी गराइयो।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित आय–व्यय विवरणसमेत पारित गरेको छ। प्रस्तुत विवरणअनुसार ब्याज आम्दानी, बैंक ब्याज तथा अन्य आम्दानीबाट संस्थाको आर्थिक आधार मजबुत बन्दै गएको देखिएको छ। साथै, ऋण व्यवस्थापन शुल्क, कर्जा दर्ता शुल्कलगायतका शीर्षकहरूबाट पनि आय संकलन हुने प्रक्षेपण गरिएको छ।

साधारणसभामा सञ्चालक समिति तथा लेखा समितिका प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्णयहरू अनुमोदन गरिनुका साथै आगामी दिनमा संस्थाको सेवा विस्तार, प्रविधिमैत्री प्रणाली अवलम्बन र सदस्यसँगको विश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने सहभागीहरूले संस्थाको निरन्तर प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सहकारी अभियानलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार