काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने गरी मापदण्ड स्वीकृत गरेको छ।
गृह मन्त्रालयले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको हो। मापदण्डअनुसार म्यादी प्रहरीलाई १० दिन तालीम दिइनेछ भने ३० दिन कार्यस्थलमा खटाइने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयका अनुसार भर्ना हुनेमध्ये १ लाख ३३ हजार ९ सय ८० जना नेपाल प्रहरी मातहत रहनेछन् भने बाँकी जनशक्ति सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन गरिनेछ।
भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाक तथा रासन सुविधा उपलब्ध गराइनेछ। रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार दिइनेछ भने तलब, रासन र पोसाकबापतको रकम सम्बन्धित व्यक्तिकै बैंक खातामा भुक्तानी गरिनेछ।
यसका अतिरिक्त, म्यादी प्रहरीलाई आउने–जाने तयारी खर्चबापत प्रति व्यक्ति ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय रुपैयाँ प्रदान गरिने मापदण्डमा उल्लेख छ। निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने सुरक्षाकर्मीलाई पनि म्यादी प्रहरीले पाएसरह १ हजार २ सय रुपैयाँ खाजा खर्च दिइनेछ।
पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेस क्षेत्रअनुसार फरक–फरक हुने व्यवस्था गरिएको छ। नेपाल प्रहरी मातहत खटिने म्यादी प्रहरीका लागि निलो डाङ्ग्री कपडा र टोपी तथा सशस्त्र प्रहरी मातहत खटिनेका लागि सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी उपलब्ध गराइनेछ।
म्यादी प्रहरी भर्ना तथा छनोट प्रक्रिया सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समितिमार्फत हुनेछ। इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीको हकमा जिल्लास्थित गण/गुल्ममा निवेदन दिन सक्नेछन्।
भर्नाका लागि १८ देखि ५४ वर्ष उमेर समूहका नागरिकले आवेदन दिन सक्नेछन्। छनोट प्रक्रियामा पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, विगतका म्यादी प्रहरी, तथा विदेशी सुरक्षा निकायबाट सेवा निवृत्त सुरक्षाकर्मीलाई प्राथमिकता दिइनेछ। साथै, पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई पनि प्राथमिकतामा राखिनेछ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयमा पठाइसकिएको जानकारी दिए। मापदण्ड स्वीकृत भएसँगै अब नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाठ्यक्रम तय गरी भर्ना तथा छनोट प्रक्रिया अघि बढाउने जनाइएको छ।
आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिसकेको छ। तीमध्ये ३ हजार ६ सय ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय ४२ स्थललाई संवेदनशील र २ हजार ८ सय ४५ स्थललाई सामान्य चुनौतीको सूचीमा राखिएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी सवा ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। यसअघि नै निर्वाचन सुरक्षामा नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति परिचालन गर्ने निर्णय भइसकेको छ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ करोड ७९ लाख ८८ हजारभन्दा बढी मतदाता रहेकामा यस पटक करिब ९ लाख मतदाता थप भई १ करोड ८९ लाख ३ हजारभन्दा बढी मतदाता पुगेका छन्।





