बागलुङ । माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारणसभा शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाले गोविन्द प्रसाद शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित सञ्चालक समितिको सचिवमा एक नारायण उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा ज्ञानेन्द्र आचार्य, भक्तराज भूसाल, सरस्वती कुमारी शर्मा (सापकोटा), राजेन्द्र क्षेत्री र खिमा कुमारी न्यौपाने रहेका छन्।
त्यसैगरी, लेखा समितिको संयोजकमा जैसरा शर्मा निर्वाचित भएकी छन् भने सदस्यहरूमा शुक्रराज बराल र हरिकृष्ण कँडेल चयन भएका छन्।
साधारणसभामा पूर्व सांसद ऋषिकेश तिवारी, गृहमन्त्रालयका सहसचिव प्रकाश पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, जीवन विज्ञान प्रशिक्षक गंगा देवी शर्मा तथा निर्वाचन उपसमितिका संयोजक अधिवक्ता नारायण आचार्यले सहकारीको भूमिका र भविष्यबारे आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द प्रसाद शर्माको अध्यक्षतामा तथा सचिव एक नारायण उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो।
२०५६ सालमा विश्व मोहन ओझाको नेतृत्वमा स्थापना भई सञ्चालनमा आएको यस सहकारीमा हाल ६०३ जना सेयर सदस्य रहेका छन्। सहकारीको सेयर पुँजी २ करोड ५७ लाख रुपैयाँ रहेको छ भने २७ करोड रुपैयाँभन्दा बढी लगानी परिचालन गरिएको छ। सहकारीले हाल ९ जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गर्दै आएको छ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सेयर सदस्यहरूको पहलमा सेवामूलक कार्यका लागि अक्षय कोष स्थापना गरेको छ, जसमा हालसम्म ६४ लाख रुपैयाँ संकलन भइसकेको छ। साथै, सेयर सदस्यहरूको अगुवाइमा ‘लायन्स क्लब अफ माउण्ट धौलागिरी’ समेत स्थापना गरिएको छ।





