काठमाडौं। कांग्रेसको केन्द्रीय कार्यालयले तोकेको तालिकाअनुसार पुस २६–२८ मा नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्। २१ फागुनको निर्वाचनअघि संस्थापनपक्ष महाधिवेशनको पक्षमा नरहेपछि उनीहरू यस दिशामा अघि बढेका हुन्।
पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग परे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार ५४ प्रतिशत प्रतिनिधिले असोज २८ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेका छन्। विशेष महाधिवेशन तीन दिन चल्ने र महामन्त्रीहरूले चाँडै औपचारिक आह्वान गर्ने पक्षधर नेताहरूले बताएका छन्।
संस्थापनपक्ष भने महामन्त्रीहरूले बोलाएको भेला विशेष महाधिवेशन नहुने दाबी गर्दै आएको छ। नियमित महाधिवेशनका लागि तय कार्यतालिका भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरण नसकिँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन विधानतः अनिवार्य भएको बताउँदै पार्टीको एकता र आत्मविश्वासका लागि आवश्यक रहेको उल्लेख गरेका छन्। उता, नेता शेखर कोइरालाले केन्द्रीय कार्यसमितिले नै निर्णय गरेर विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा राखेका छन्।





