एमाले महाधिवेशनः ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम तीन घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदानपछिका प्राविधिक प्रक्रिया पूरा गरेर बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी छ। उनले मतगणनाअघि मुचुल्का उठाउने र आवश्यक सहमति कायम गर्न केही समय लाग्ने भए पनि मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए।

महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित भएका छन्। बुधबार बिहान ९ बजेर १२ मिनेटदेखि मतदान सुरु भएको थियो।

एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटीका लागि ६ सय ४२ जनाले उम्मेदवारी दिएका छन्। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार