एभरेस्ट कलर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ निष्कासन प्रस्ताव अनुमोदन



नेपालको अग्रणी रङ उत्पादक कम्पनी एभरेस्ट कलर लिमिटेडको दोस्रो वार्षिक साधारणसभा (AGM) सोमबार मंसिर २९ गते भक्तपुरको कौशलटारस्थित त्रिशक्ति बैंक्वेटमा सम्पन्न भएको छ।

साधारणसभाले कम्पनीलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिने महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गरिएको छ।

सभाले कम्पनीको जारी पूँजीको २६.३३ प्रतिशत बराबर हुने ७ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो। यसका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।

आईपीओ निष्कासन तथा अन्य आवश्यक व्यवस्थाका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ।

एभरेस्ट कलर लिमिटेड हाल नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको प्रक्रियामा रहेको छ। कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको जनाएको छ।

गुणस्तरीय रङ उत्पादन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा राष्ट्रिय पूर्वाधार विकासमा योगदान दिने लक्ष्यका साथ कम्पनीले देशभर आफ्नो बजार विस्तार गर्दै आएको छ। केयर रेटिङ्ग्स नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर–एनपी डबल बी माइनस (आई.एस.)’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय जोखिम मध्यमस्तरको रहेको संकेत गर्दछ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार