ओली गुटमा शंकर पोखरेल हाबी भएको भन्दै विष्णु पौडेल पक्ष असन्तुष्ट



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्र महासचिव शंकर पोखरेल हाबी भएको भन्दै उपाध्यक्ष पदका उम्मेदवार विष्णु पौडेल निकट प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्।

पौडेल ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार हुन् भने पोखरेल महासचिव पदका उम्मेदवार छन्। पोखरेलले महासचिव पद सुरक्षित गर्दै यसअघिका सचिवहरू पद्मा अर्याल, लेखराज भट्ट र छविलाल विश्वकर्मालाई पन्छाएर भानुभक्त ढकाललाई उपमहासचिव पदको उम्मेदवार बनाएको विषयले पौडेल पक्ष असन्तुष्ट भएको हो।

पौडेल पक्षका एक नेताका अनुसार, “महासचिवले आफूलाई फेरि सोही पदमा सुरक्षित राख्नुभयो, स्थायी कमिटी सदस्य भानुभक्त ढकाललाई उपमहासचिव उम्मेदवार बनाउनुभयो। तर यसअघिका सचिवहरू किन उपमहासचिवका लागि योग्य ठहरिएनन् भन्ने प्रश्न उठेको छ।”

ती नेताका अनुसार, केन्द्रीय सदस्य चयन प्रक्रियामा समेत महासचिव पोखरेलले ‘एकलौटी’ गरेको आरोप प्रतिनिधिहरूले लगाएका छन्। यसले ओली समूहभित्रै असन्तोष चुलिँदै गएको संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार