राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकता प्रक्रियामा तीव्रता आएको छ। दुवै दलका शीर्ष नेताबीच पछिल्ला दिनमा घनिभूत छलफल भइरहेको राट्रपाका नेताहरूले बताएका छन्।

राप्रपा नेपाल अध्यक्ष कमल थापाले काठमाडौंमा आयोजित जेन्जी फ्रण्टको भेलामा बोल्दै छिट्टै ‘खुसीको समाचार’ आउने संकेत दिए। उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याएर बलियो संगठन निर्माणको आवश्यकता औँल्याए।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँगको एकता टुंगिन नजिक पुगेको बताए। साथै, अन्य राष्ट्रवादी शक्ति—केशरबहादुर विष्ट, दुर्गा प्रसाईं लगायतलाई पनि एउटै मोर्चामा ल्याउन वार्ता भइरहेको जानकारी दिए।

नाम र चिह्न राप्रपाकै रहने
एकता छलफलमा पार्टीको नाम, चुनाव चिह्न ‘गाई’ र विधान राप्रपाकै रहने सहमति नजिक पुगेको स्रोतहरूले बताएका छन्। कमल थापा ‘राप्रपा’ नाम र ‘गाई’ चिह्न स्वीकार्न तयार भएपछि वार्ता थप सहज बनेको बताइन्छ। तर नेतृत्वको अन्तिम टुंगो भने अझै बाँकी छ।

के भइसकेको छ?
गत २५ कात्तिकमा राजेन्द्र लिङ्देन र कमल थापाबीच धुम्बाराहीमा एक्लाएक्लै वार्ता भएको थियो। त्यसयता दुवै दलका टोलीहरूबीच निरन्तर छलफल जारी छ।
सबै पक्षका संकेतअनुसार केही दिनमै एकता औपचारिक रूपमा घोषणा हुने सम्भावना बढेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार