नेपालमा मानसिक स्वास्थ्य जोखिम बढ्दो, योग–ध्यानजस्ता अभ्यासलाई प्राथमिकता दिन स्वास्थ्य मन्त्री डा. गौतमको आग्रह



काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी जोखिम निरन्तर बढिरहेको बताउँदै त्यसको रोकथामका लागि मनोपरामर्शसँगै आध्यात्मिक र सन्तुलित जीवनशैलीलाई अपनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।

काठमाडौंमा आजदेखि सुरु भएको तरङ्गीनि फाउण्डेशनद्वारा आयोजित दुई दिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फरेन्स’ को उद्घाटन गर्दै मन्त्री गौतमले तनाव, एक्लोपन, भावनात्मक दमन तथा दैनिकीमा बढ्दो दबाबले मानसिक समस्या गम्भीर रूपमा फैलिएको भन्दै योग, ध्यान र अनुशासित दिनचर्या प्रभावकारी उपायका रूपमा रहेको बताइन्।

उनका अनुसार नेपालमा हरेक वर्ष ७ हजारभन्दा बढी व्यक्तिले आत्महत्या गरिरहेको तथ्याङ्कले मानसिक स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने स्पष्ट संकेत गर्छ। “आफ्ना कुरा व्यक्त गर्न नसक्ने, तनाव व्यवस्थापन नहुने र आत्मविश्वास कम हुने जस्ता कारणले जोखिम अझ बढिरहेको छ,” उनले भनिन्। “सकारात्मक सोच निर्माण र सहयोगी वातावरण बनाउन सरकार, समुदाय र परिवार सबै जिम्मेवार छन्।”

मन्त्री गौतमले मन्त्रालय सम्हालेयतै मानसिक स्वास्थ्यलाई नीतिगत तथा व्यवस्थापनस्तरमा सुदृढ बनाउने कार्य अघि बढाइएको बताइन्। स्वास्थ्य संस्थाहरूमा मनोपरामर्श सहायता कक्ष स्थापना, ‘टेलिभेडिसिन’ मार्फत वैदेशिक रोजगारमा रहेका श्रमिकलाई समेत परामर्श सेवा सुरु गरिएको जानकारीसमेत उनले दिइन्।

देशभर मनोपरामर्श सेवा प्रदान गर्ने व्यक्ति तथा संस्थाको संख्या बढ्दो क्रममा भए पनि सरकारी संरचनामा आवश्यक दरबन्दी नहुँदा दक्ष जनशक्तिको प्रभावकारी उपयोग हुन नसकेको मन्त्री गौतमको भनाइ छ। उनले जनशक्ति व्यवस्थापन, स्वास्थ्य शिक्षा, सूचना प्रसार तथा पहुँच विस्तारका विषयमा दीर्घकालीन नीतिगत सुधार भइरहेका उल्लेख गरिन्।

कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. पुष्पराज शर्मा, परामर्शदाता सुनिता श्रेष्ठलगायतले सामुदायिक मानसिक स्वास्थ्यका चुनौती, अवस्था र सुधार उपायबारे विचार व्यक्त गरे। दुई दिने सम्मेलनमा मानसिक स्वास्थ्यका कारण, चुनौती, उपचार प्रणाली र सुधार रणनीतिबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार