काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। सोमबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सर्वसम्मतरुपमा पारित गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन्।
उनका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका बैठकले कुनै परिवर्तन बिना नै स्वीकृत गरेको हो। मितिबारे पार्टीभित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै केन्द्रीय समितिले अन्ततः पुस अन्तिम साता नै महाधिवेशन गर्ने सहमति जुटाएको हो।
यसअघि महाधिवेशन मिति असोज २८ भित्र टुंगो लगाउनुपर्ने भए पनि आन्तरिक समायोजन र तयारी सम्बन्धी विभिन्न कारणले सहमति जुट्न सकेको थिएन। अब भने औपचारिक निर्णयसँगै महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको कांग्रेस नेताहरूले बताए।
प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार





