काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट गर्दैछ। ११ मंसिरमा उम्मेदवारी मनोनयन सम्पन्न भइसकेपछि सहमति नजुटेका निर्वाचन क्षेत्रमा आज बिहान ८ बजेदेखि मतदान भइरहेको छ। अधिकांश क्षेत्रमा मतदान समय दिउँसो २ बजेसम्म छ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा गरी करिब २ हजार प्रतिनिधि चयन हुनेछन्। प्रवास, जनसंगठन र विभागहरूबाट पनि करिब १ सय प्रतिनिधि चुन्ने छन्। महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने अनुमान छ।
एमाले सचिवालयको निर्णय अनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रको १२०० सदस्यमा खुलाबाट दुई र महिलाबाट एक प्रतिनिधि चयन गरिनेछ। तीमध्ये एक अनिवार्य युवा (४० वर्षभित्र) हुनुपर्छ। ८०० सदस्यमा एक महिला र ५०० सदस्यमा एक दलित प्रतिनिधि चयन गरिने व्यवस्था छ।
ट्रेड युनियनबाट प्रदेशगत सात, जनसंगठनबाट पाँच–पाँच र महासंघीय संरचनाबाट सात प्रतिनिधि रहनेछन्। विभाग र कार्यालयबाट एक–एक तथा प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि रहनेछन्।
केन्द्रीय कमिटी, अनुशासन, लेखा, निर्वाचन आयोग र सल्लाहकार परिषद् मिलाएर ४६४ स्वतः प्रतिनिधि रहनेछन्। एमालेका ६ लाख ६७ हजार सदस्यमध्ये विभिन्न संरचनाबाट करिब १९ सयभन्दा धेरै प्रतिनिधि छनोट हुनेछन्। साथै ५ प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने प्रावधान छ।





