काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवारलाई प्रदान गरिने टिकटमा विशेष महाधिवेशनबाट चुनिने नयाँ सभापतिको हस्ताक्षर नै रहने बताएका छन्।
आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्दा वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग भएको विषयमा उठेको प्रश्नबारे स्पष्टीकरण दिंदै उनले यस्तो स्पष्ट पारेका हुन्।
महामन्त्री थापाले सोमबार एक्स (X) मार्फत पार्टीका नेता–कार्यकर्ताले आफूलाई देउवाकै हस्ताक्षरमा चुनाव लड्ने हो कि भन्ने प्रश्न गरिरहेको जानकारी दिएका छन्। उनले भनेका छन्, “पार्टी आगामी निर्वाचन नयाँ सभापतिकै हस्ताक्षरमा लड्छ।”
उनका अनुसार कांग्रेस विधानअनुसार समयभित्र विशेष महाधिवेशन हुनेछ र त्यहीँबाट नयाँ सभापति चयन हुनेछन्। उक्त सभापतिको हस्ताक्षरसहित पार्टीका निर्णयहरू सच्याएर निर्वाचन आयोगमा अद्यावधिक गरिने उनले स्पष्ट पारे।
थापाले विशेष महाधिवेशन अब अपरिहार्य भएको भन्दै अलमलमा नपर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। उनका अनुसार पार्टीले पहिले नै निर्वाचनअघि महाधिवेशन आवश्यक रहेको धारणा सार्वजनिक गरिसकेको छ।





