काठमाडौँ । एमालेले शुक्रबार निकै तामझामका साथ घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्सको कमान्डर नै सात वटा फौजदारी मुद्दा लागेका व्यक्ति रहेको खुलासा भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नेसनल भोलेन्टियर्स फोर्स’को घोषणा गरेका थिए । जसको कमान्डर सिन्धुलीका श्रेष्ठ तोकिएका छन् ।
यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध रहेका श्रेष्ठ भोलेन्टियर्स फोर्सको जिम्मेवारी पनि उनै श्रेष्ठले पाएका हुन् । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ ।
श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठ २०६३ देखि अपराध कर्ममा संलग्न भएका हुन् ।
२०७५ मा सार्वजनिक अपराध, २०७३ मा ज्यानमार्ने उद्योग,२०६३ मा ज्यान मार्ने उद्योग, २०६४ मा पनि ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध र २०७० मा अपराध तथा शरीर बन्धक मुद्दा लागेको थियो । त्यसबाहेक २०६५ मा श्रेष्ठमाथि ज्यानमार्ने उद्योग अन्तर्गत प्रहरीले मुद्दा चलाएको थियो ।





