काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन्। केही नेताहरूले १५औं महाधिवेशन वैशाख वा त्यसपछि गर्ने सुझाव दिइरहेकाबारे संकेत गर्दै उनले ढिलोमा पनि पुस अन्तिमसम्म महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका हुन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा पार्टीका युवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले भने, “२०८२ मंसिरमै महाधिवेशन हुनुपर्छ भनेर म पहिले देखि भन्दै आएको थिएँ। अहिले पनि मेरो अडान पुसभित्रै महाधिवेशन गर्नुपर्ने हो।”
उनका अनुसार यदि पुस मसान्तभित्र महाधिवेशन गर्न नसकिएमा कांग्रेसले विशेष महाधिवेशन गर्ने निर्णय गर्नुपर्ने हुन्छ। उनले अहिले ५४ प्रतिशत प्रतिनिधिले बुझाएको हस्ताक्षर सनाखतमा जाने हो भने पार्टी विभाजनको जोखिम हुने भन्दै त्यसको सट्टा केन्द्रीय समितिले सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनतर्फ जानु राम्रो हुने बताए।
असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।
कांग्रेसभित्र अहिले चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने, नियमित महाधिवेशन गर्ने कि विशेष गर्ने भन्ने विषयमा मतभेद छ। असोज २८ देखि सुरू भएको केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राखिसके पनि सर्वसम्मत निर्णय नहुँदा बैठक मंसिर ४ गते दिउँसो २ बजेसम्म स्थगित गरिएको छ।
शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। सभापति शेरबहादुर देउवा नजिकका केही पदाधिकारीहरू भने वैशाखमा महाधिवेशन गर्नुपर्ने धारमा छन्। देउवा निकट २५ केन्द्रीय सदस्य भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।
नेताहरूबीच एउटै मत नबनेका कारण पार्टीले अन्तिम निर्णय गर्न नसकेको बताइएको छ।





