काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै सिजनको विजयी सुरुआत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले राखेको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो। लक्ष्य पछ्याउने क्रममा काठमाडौंका बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले। आकाश त्रिपाठीले ३९ रन जोडे भने मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रनको योगदान दिए। जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट हात पारे।
यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन प्रहार गरे। मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
काठमाडौँका बलरमध्ये मिलिन्द कुमार सर्वाधिक ३ विकेटका साथ चम्किए। सन्तोष यादव, साहबल आलम र करणा केसीले एक–एक विकेट लिए। एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल भएको यो भिडन्तलाई रोचक मानिएको छ। यस सिजनका अन्य खेलहरू पनि दिनरात दुबै समयमा सञ्चालन हुनेछन्।





