शिक्षक आन्दोलनकै बेला ओली सरकार ढाल्ने प्रयास भएको एमालेका शिक्षक नेताको खुलासा



काठमाडौं । नेकपा (एमाले) निकट नेपाल शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षक आन्दोलनकै बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने प्रयास भएको खुलासा गरेका छन्।

शुक्रबार एमाले अध्यक्ष ओलीको उपस्थितिमा भएको विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै भण्डारीले सो कुरा सार्वजनिक गरेका हुन्।

उनका अनुसार, “शिक्षक आन्दोलनमा पनि अहिलेको जेन–जी आन्दोलनमा जस्तो घुसपैठ गराउने प्रयास भएको महसुस गरिएको थियो,” उनले भने, “त्यो बेला २९ दिनको आन्दोलन नहुनुपर्ने थियो, तर भयो।”

भण्डारीले आन्दोलनमा संस्थापन पक्षबाहेकका समूहहरूको प्रभाव बढेकाले त्यसलाई लम्ब्याएर सरकार ढाल्ने उद्देश्यले अघि बढाइएको दाबी गरे। “त्यो महसुस गरे पनि रोक्न सकिएन,” उनले भने।

त्यो समयमा तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रत्यक्षरूपमा जानकारी गराउने अवस्था पनि नरहेको उनले बताए।

भण्डारीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा कांग्रेसले संसद् पुनर्स्थापनाको कुरा उठाएको प्रसङ्ग स्मरण गर्दै भने, “अहिले कांग्रेसबाट किन संसद् पुनर्स्थापनाको कुरा उठिरहेको छैन? उठिदिए सजिलो हुन्थ्यो।”

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते आइतवार