काठमाडौँ । वाम दलहरूबीच एकता र विभाजनको बहस तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज भेटवार्ता हुने भएको छ।
खनाल हिजो साँझ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग गुन्डुमा भेटेर चारबुँदे राजनीतिक प्रस्ताव अघि सारेपछि आज प्रचण्डसँग पनि छलफल गर्न लागेका हुन्। वाम दलहरूलाई एकताबद्ध राख्नुपर्ने आवश्यकता रहेको भन्दै खनालले प्रचण्डसँग भेटमा पनि सो विषय उठाउने बताए।
खनालले वाम एकताको लागि चार सर्त राखेका छन्—
मार्क्सवाद–लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्ने।
समाजवादी क्रान्तिको युग चलिरहेको हुँदा त्यसलाई अघि बढाउनुपर्ने।
एकै मात्र समाजवादी कार्यक्रमलाई मुख्य कार्यदिशा बनाइनुपर्ने।
कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रममा एकरूपता हुनुपर्ने।
‘यी सर्त मान्नेहरूसँगै एकता हुन्छ,’ खनालले भने। उनका अनुसार अहिले विभिन्न नेतासँग छलफल निरन्तर भइरहेको छ। यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ। तर झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायत नेताहरू भने सो निर्णयविरुद्ध रहेर वैकल्पिक राजनीतिक बाटो खोज्दै आएका छन्। झाँक्रीनिकट समूहले आज पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
यसबीच, सो समूह एमालेमै फर्किने तयारीमा रहेको बताइएपछि वाम राजनीति फेरि नयाँ मोडमा प्रवेश गरेको विश्लेषण गरिँदैछ।





