काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग गुन्डुमा भेटवार्ता गरेका छन्। ओलीको टोलीले उनलाई विशेष रूपमा गुन्डु बोलाएर भेटवार्ता गरेको खनाल निकट स्रोतले जनाएको छ।
भेटमा एकीकृत समाजवादीका नेताहरू पुनः एमालेमा फर्कने विषयमा मुख्य रूपमै छलफल भएको स्रोतको दाबी छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसहित पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेपछि खनाल र केही नेताहरू असन्तुष्ट रहँदै आएका छन्। पार्टी एकता प्रक्रियालाई खनालले खुलेरै अस्वीकार गरेका थिए।
ओलीसँगको भेटमा खनालले एमालेमा फर्कन चार शर्त राखेका छन्। ती शर्तबारे ओलीले विचार गर्न तथा थप छलफल जारी राख्ने संकेत दिएको बताइएको छ। त्यसपछि खनाल फेरि भेट्नेगरी डल्लु फर्किएका छन्।
यसैबीच रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरू भने घनश्याम भुसालसँग हुने सम्भावित पुनर्गठन प्रक्रियामा पनि नजाने तथा बिना शर्त एमाले फर्कन इच्छुक रहेको बताइएको छ।
दुवै समूहबीचको यो संवादले बाम राजनीतिमा फेरि नयाँ समीकरण बन्न सक्ने संकेत देखिएको विश्लेषणकर्ताहरू बताउँछन्।





