नेपालका कम्युनिष्टहरु हिन्द र प्रशान्त महासागर जस्ता, मिसिने तर नमिल्ने



काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नेपालको वामपन्थी राजनीति ‘मिसिने तर नमिल्ने प्रवृत्ति’ बाट ग्रस्त रहेको कडा टिप्पणी गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा विचार सार्वजनिक गर्दै बाँस्कोटाले वाम दलहरूबीच एकता र फुटको चक्रलाई व्यंग्यात्मक रूपमा चित्रण गरेका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्,

“फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन्— मिसिने तर नमिल्ने, हिन्द र प्रशान्त महासागरजस्ता। कारण– गहिराइको चाप र नेतृत्वको राप।”

उनको उक्त टिप्पणी हाल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणको तयारी भइरहेका बेला आएको हो। बाँस्कोटाले यस प्रक्रियालाई संकेत गर्दै भनेका छन्— “फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।”

राजनीतिक विश्लेषकहरूले बाँस्कोटाको यो भनाइलाई वामपन्थी दलहरूमा दीर्घकालदेखि देखिँदै आएको ‘सत्ताकेन्द्रित एकता र व्यक्तिगत अहंकारजन्य फुट’ को प्रतीकात्मक आलोचना रूपमा व्याख्या गरेका छन्।

वाम दलहरूबीच पटक–पटक हुने एकता र त्यसपछि हुने विभाजनले नेपालको वाम राजनीति निरन्तर अस्थिर बनाउँदै आएको पृष्ठभूमिमा बाँस्कोटाको यो अभिव्यक्ति आएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार