काठमाण्डौ । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिसले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। एनपीएलको फ्रेन्चाइज टोली विराटनगरले हिजो औपचारिक रूपमा डु प्लेसिसलाई अनुबन्ध गरेको जनाएको छ।
आउँदो मङ्सिर १ गतेदेखि सुरु हुने एनपीएलमा फाफ डु प्लेसिसको आगमनले प्रतियोगिता थप रोचक हुने अपेक्षा गरिएको छ। यद्यपि, उनी हाल अबुधाबी टी–टेन लिगमा व्यस्त रहेकाले लिगका शुरुआती खेलहरू गुमाउनेछन्।
विराटनगर किंग्सका व्यवस्थापनका अनुसार, डु प्लेसिस जस्तो विश्वस्तरीय खेलाडीको सहभागिताले नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय आकर्षण थपिनेछ। टोलीले उनीसँगै यसअघि नै स्कटल्याण्डका जर्ज मन्से र अस्ट्रेलियाका साम हिजलेटलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
फाफ डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ६९ टेस्ट खेल्दै ४ हजारभन्दा बढी रन, १४३ एकदिवसीय खेलमा ५ हजार ५ सयभन्दा बढी रन र ५० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा १५ सयभन्दा बढी रन बनाइसकेका छन्। उनीसँग आईपीएलसहित विश्वभरका फ्रेन्चाइज लिगहरूको अनुभव रहेको छ।
विराटनगर किंग्सले भनेको छ, “फाफ डु प्लेसिसजस्ता खेलाडी एनपीएलमा आउने हुनु नेपाली क्रिकेटका लागि गर्वको कुरा हो। यसले हाम्रो टिममा थप उत्साह र आत्मविश्वास भरिदिएको छ।”





