भारी वर्षा नहुने, आज दिउँसोदेखि काठमाण्डौको मौसम खुल्दै



काठमाण्डौ उपत्यकासहित देशका मध्य क्षेत्रका केही स्थानमा आज बिहान वर्षा भइरहेको छ । पूर्व र पश्चिमका धेरै ठाउँमा भने गएरातिदेखि नै मौसममा सुधारको संकेत देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसोदेखि काठमाण्डौ र मध्य क्षेत्रको मौसममा क्रमिक सुधार हुने भए पनि आज घाम लाग्ने सम्भावना न्यून छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, “हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना छैन । दिउँसोसम्म कतैकतै पानी पर्ने र रोकिने क्रम चलिरहनेछ, त्यसपछि क्रमशः मौसम खुल्दै जानेछ ।” बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव घट्दै गएको र पश्चिमी वायू तथा अरब सागरको प्रणाली पनि कमजोर हुँदै गएपछि मौसममा सुधार आउन थालेको हो ।

महाशाखाले दिएको विवरणअनुसार आज कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा, साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम सामान्यतया घमाइलो रहने मौसमविद्हरूको अनुमान छ

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार