सनातनी युवासहितको सर्वपक्षीय सरकार गठनको माग



काठमाडौं । राष्ट्र संरक्षण सञ्चार संस्थाले देशमा देखिएको राजनीतिक अन्यौल र अनिश्चितताको निकासका लागि सनातनी युवा पुस्तासहितको सर्वपक्षीय र सर्वदलीय सरकार गठन गर्नुपर्ने माग गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत संस्थाका सम्पादक डा. केबी सम्राट र संयोजक यबराज आचार्य सहितको ‘राजनीतिक सनातन यात्रा’ टोलीले उक्त माग सार्वजनिक गरेको हो। उनीहरूले संविधान २०७२ को संशोधन पनि आवश्यक रहेको जिकिर गरे।

संयोजक आचार्यका अनुसार, “२०७२ सालको संविधान विभिन्न अवाञ्छित तत्वहरूको संलग्नतामा जारी गरिएको थियो। यसले निरन्तर राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार, दण्डहीनता र अन्यायलाई बढावा दिएको छ।”

उनका अनुसार, सो संविधानअनुसार कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने परिस्थिति रहँदै आएको र त्यसका कारण मुलुकको विकासमा बाधा पुगेको बताए। उनले थपे, “प्राचीन वैदिक सभ्यताको आधारमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसहितको सनातन राष्ट्र व्यवस्था कायम गरेमात्र देशमा शान्ति, सद्भाव र समृद्धि सम्भव छ।”

आचार्यले हालको संविधान असफल भइसकेको दाबी गर्दै भने, “यदि यही संविधानका आधारमा आगामी फागुन २१ गते निर्वाचन भयो भने पुनः लुटतन्त्र, भ्रष्टाचार र दलिय तानाशाहीको पुनरावृत्ति हुनेछ।”

त्यस्तै, संस्थाले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले संविधान संशोधन नगरी आगामी निर्वाचनमा नजान चेतावनी दिएको छ।

आयोजकहरूले मागहरू पूरा नभएमा नयाँ शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा समेत गरेका छन्। पत्रकार सम्मेलनमा उनीहरूले भने, “यदि सर्वपक्षीय सरकार गठन र संविधान संशोधन गरी सनातन राष्ट्र घोषणा नगर्ने हो भने ‘सनातन सिंदुर अपरेसन’ नामक आन्दोलन सुरू हुनेछ, जसले मातृशक्ति सहित सनातनीहरूको रक्षा गर्नेछ।”

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार