काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ। नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), कर्णजित बुढा लगायतका नेताहरू वकिलहरूसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथतर्फ प्रस्थान गर्दै छन्।
नेता बुढामगरका अनुसार आयोगमा दल दर्ताका लागि आवश्यक सम्पूर्ण कागजात तयार पारिएको छ।
“पहिले पनि आयोगमा गएका थियौं, तर केही कागजपत्र अपूरा थिए। आज ती सबै आवश्यक कागजात वकिलहरूसहित बुझाउन जाँदैछौं,” उनले अनलाइनखबरसँग बताए।
उनका अनुसार पार्टीले यही कात्तिक महिनाभित्रै दल दर्ता प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन कात्तिक ३० गतेभित्र दल दर्ता प्रमाणपत्र लिइसक्नुपर्ने म्याद तोकेको छ।
प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार





