दोषी रहेछन् भने प्रचण्डलाई पनि जेल हाल्नुस्ः संयोजक तिमल्सिना



काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुले स्थापना गरेको संगठन ‘जेन–जी रेडफोर्स’ ले औपचारिक रूपमा आफ्ना एजेण्डा सार्वजनिक गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत रेडफोर्सकी केन्द्रीय संयोजक स्मृति तिमल्सिनाले संगठनका मूल लक्ष्य र कार्ययोजना सार्वजनिक गरेकी हुन् ।

संयोजक तिमल्सिनाका अनुसार जेन–जी रेडफोर्स हालसम्म ६५ वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ र सातै प्रदेशमा संयोजक तोकिसकेको छ ।

उनले रेडफोर्सका मुख्य एजेण्डा उल्लेख गर्दै भनिन् “हाम्रो मुख्य एजेण्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारविरुद्ध अभियान, र २००७ सालदेखि आजसम्म सत्तामा पुगेका सबै नेताको सम्पत्ति छानबिन गर्नु हो।”

तिमल्सिनाले माओवादी केन्द्रभित्र पनि केही भ्रष्टाचारी रहेको स्वीकार गर्दै उनीहरूमाथि कानुनी कारबाही हुनुपर्ने स्पष्ट सन्देश दिइन् । उनले भनिन् “माओवादी केन्द्रमा पनि भ्रष्टाचारी छैनन् भन्दिन म । छन् । ती भ्रष्टाचारीलाई पनि यो सरकारले छानबिन गरोस् । यदि उनीहरू दोषी ठहरिए भने, आवश्यक परे हाम्रो सुप्रिम कमाण्डरलाई समेत जेल हाल्न सकिन्छ। रेडफोर्सले कुनै पनि भ्रष्टाचार सहँदैन र त्यसविरुद्ध शंखनाद गर्दै निरन्तर आवाज उठाउँछ।”

उनका अनुसार रेडफोर्स अब देशभरका युवालाई संगठित गर्दै सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको अभियान अगाडि बढाउने तयारीमा छ ।

मुख्य एजेण्डा संक्षेपमा:

प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली

पूर्ण समानुपातिक निर्वाचन प्रणाली

भ्रष्टाचारविरुद्ध सशक्त अभियान

२००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेकाको सम्पत्ति छानबिन

प्रकाशित मिति : २०८२ कार्तिक १० गते आइतवार