मदिरा व्यवसायी संघ काठमाडौंद्वारा एप शुभारम्भ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौंले ‘मदिरा व्यवसायी संघ काठमाडौं एप’ सार्वजनिक गर्दै दशैं, तिहार, नेपाल संवत्, छठ तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा विशेष समारोहकाबीच सम्पन्न उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले एपको औपचारिक शुभारम्भ गर्दै संघले प्रविधिमैत्री पहल अगाडि बढाएको प्रशंसा गर्नुभयो। उहाँले व्यवसायलाई पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन डिजिटल प्रणाली महत्वपूर्ण हुने उल्लेख गर्दै व्यवसायीबीच एकता र अनुशासन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथिहरू राम श्रेष्ठ, सरनतोस श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, व्यवसायी हरि सिटौला, मदिरा व्यवसायी संघ ललितपुरका अध्यक्ष हरिहर अधिकारी लगायतले मदिरा व्यवसाय आर्थिक क्षेत्रको महत्वपूर्ण अङ्ग भएको बताउँदै यस क्षेत्रमा व्यवसायिकता र सामाजिक उत्तरदायित्व दुवै आवश्यक रहेकोमा जोड दिए।

संघका उपाध्यक्ष विश्वश्वर प्रसाद आचार्यले पनि कार्यक्रमलाई सम्बोधन गर्दै संघले लिएको डिजिटल कदमले सदस्यता व्यवस्थापनदेखि सूचना आदानप्रदानसम्म सहज हुने बताएकाे थियो।

कार्यक्रमको सभापतित्व संघका काठमाडौं जिल्ला अध्यक्ष रुप तामाङले गर्नुभएको थियो। उहाँले एपले बजार अनुगमन र समन्वयलाई सरल बनाउने उल्लेख गर्दै व्यवसाय व्यवस्थित र मर्यादित बनाउन सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै, सरकारले नीति, कर प्रणाली र बजार नियमनमा सुधार गर्दै व्यवसायीमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाब पनि राख्नुभयो।

कार्यक्रममा संघका पदाधिकारी, विभिन्न जिल्ला प्रतिनिधि, व्यवसायी, संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत देउसी–भैलो प्रस्तुतीसमेत गरिएको कार्यक्रममा पर्वहरूको सन्देशसहित आपसी एकता, सहकार्य र उत्सवको भावना झल्किएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार