काठमाडौँ । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा हुनेछ, जसको सुरुवात नेपाली समयअनुसार बेलुका ८:४५ बजे हुनेछ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र कुवेत तीनपटक आमनेसामने भएका छन्। तीमध्ये नेपालले दुई खेल जितेको छ भने कुवेतले एक खेलमा विजयी भएको छ। पछिल्लो भेट यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा भएको थियो, जहाँ लिग चरणमा नेपालले जितेको थियो तर फाइनलमा कुवेतले नेपालको बदला लिएको थियो।
आजको खेलमा जित्ने टोली सुपर सिक्समा प्रवेश गर्ने सम्भावना उच्च छ। तर, कुवेतले अघिल्लो भेटमा नेपाललाई हराइसकेकाले प्रतिद्वन्द्वीलाई हल्का आँक्न नहुने बताइन्छ।
९ टोली सहभागी रहेको यस प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपको टिकट पाउने छन्।
यस पटकको छनोट प्रतियोगिता केही फरक ढंगले आयोजना गरिएको छ — यसमा एसिया र इस्ट एसिया पेसिफिक (EAP) दुवै क्षेत्रका टिम समावेश छन्।





