काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रमुख तीन दलका शीर्ष नेता तथा उनीहरूका पारिवारिक सदस्यहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
विभागले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा उनीहरूका नातेदार–आफन्तको सम्पत्ति विवरण माग गरेको हो।
विभागका अनुसार, ती नेताहरूको नाममा रहेको चल–अचल सम्पत्ति, शेयर, र विभिन्न कारोवारसम्बन्धी विवरण सरोकारवाला निकायबाट झिकाउने पत्राचार गरिएको छ। केही विवरण आइसकेका छन् भने केहीका लागि मंगलबार मात्र नयाँ पत्र पठाइएको स्रोतले जानकारी दियो।
यसअघि विभागले आगजनीबाट क्षतिग्रस्त तीन दलका नेताहरूको घर र निवासमा स्थलगत अनुसन्धान गरी जलेका रकमको मुचुल्का तयार गरेको थियो। सार्वजनिक भिडियोहरूको डिजिटल फरेन्सिक परीक्षणका लागि प्रहरी ल्याबमा पठाइएको छ।
ओलीमाथि गिरीबन्धु टी इस्टेट र गोकर्ण फरेष्ट रिसोर्ट प्रकरणमा नीतिगत भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप छ। प्रचण्डमाथि नक्कली लडाकु प्रकरणमा अनियमितताको उजुरी परेको छ भने देउवा दम्पतीमाथि सार्वजनिक पदको दुरुपयोग गरेर सम्पत्ति जोडेको आरोप छ।
विभाग स्रोतका अनुसार, ती उजुरीका आधारमा गैरकानूनी सम्पत्ति आर्जन वा व्यवस्थापनको आशंकामा अनुसन्धान सुरु गरिएको हो। थप विवरण केही दिनमै आउने बताइएको छ।





