काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा निवर्तमान सांसद तोसिमा कार्कीले जेन–जी आन्दोलनमा सहभागी भएको स्वीकार गरेकी छन्। भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा आफू प्रहरीको गोलीबीच हिँडेको उनले खुलासा गरेकी हुन्।
पार्टीभित्र आन्दोलनमा संलग्नता सम्बन्धी विवाद उठेपछि रास्वपाले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सहमहामन्त्री विपिन आचार्यले आन्दोलनमा शीर्ष नेता समेत संलग्न भएको दाबी गर्दै कारबाहीको माग गरेका थिए।
तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै विशेष अधिवेशन गर्न चुनौती दिएकी छन्। उनले पार्टीलाई सुदृढ बनाउन जिम्मेवार ढंगले राजनीतिक विषय उठाउँदा आफूलाई ‘Get Out’ भन्ने शैलीमा हेपिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
यसअघि उनले पार्टी पुनर्गठनका लागि चार बुँदे प्रस्ताव समेत सार्वजनिक गरेकी थिइन्। उनका अनुसार पार्टीको नेतृत्व, सिद्धान्त, नीति र कार्यक्रम सबैको पुनरावलोकन गरी समयसापेक्ष रूपान्तरण गर्नु आवश्यक छ।
पछिल्लो समय रास्वपाभित्र असन्तुष्टि र राजीनामाको क्रम बढ्दै गएको छ। संस्थापन महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने सहमहामन्त्री सुमना श्रेष्ठले पनि पद छाडेर पछिल्लो आन्दोलनपछि पार्टी नै परित्याग गरेकी छन्। त्यस्तै, केन्द्रीय सदस्यहरु हरि भट्ट र डा. प्रभात अधिकारीले समेत राजीनामा दिएका छन्।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वलाई लिएर देखिएको गहिरो मतभेदकै बीच रास्वपा आन्तरिक संघर्षमा फसेको देखिन्छ।





