काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गते आफूलाई लक्षित गरी प्राणघातक योजना बनेको दाबी गरेका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको टोलीसँगको भेटमा उनले प्रदर्शनकारीहरूले आफूलाई हत्या गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने षड्यन्त्र रहेको बताए।
“यसपटक पाँच मिनेट ढिला भएको भए म मारिन्थे, शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने योजना थियो,” ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एकजनाले बताएका छन्।
उनका अनुसार भदौ २४ गते दिउँसो प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षाकर्मीहरूले नियन्त्रण गर्न नसक्ने अवस्था आएको थियो। “सुरक्षामाथि केही भरोसा थियो, तर अन्ततः उनीहरूले केही गर्न सक्दैनन् भन्ने देखियो,” ओलीले बताएका छन्।
उक्त दिन अपरान्ह २ बजे ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै सेनाले उनको सुरक्षा सुनिश्चित गर्न शिवपुरी लगेको थियो।





